आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति दिएको छैन: प्रधानमन्त्री दाहाल



मंगलवार २३ , फाल्गुन २०७९

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो जवाफ आएको हो । 

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले अहिले मुस्ताङको विषयमा बडो चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालयभन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको स्पष्ट पारे । ’मुस्ताङमा बुद्धको युनिभर्सिटी बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो । पक्कै पनि त्यहाँ स्थानीय तहबाट चाहिँ कलेज खोल्ने, युनिभर्सिटी खोल्नेभन्दा पनि कलेज खोल्ने चर्चा चाहिँ धेरै पहिलेदेखि भएको रहेछ । तर नेपाल सरकारले कहींकतै स्वीकृति दिएको स्थिति होइन,’ उनले भने ।

प्रधानमन्त्री दाहालले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप÷प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए । उनले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरु बढी जानकार रहेको आफूले सुनेको बताए । प्रधानमन्त्री दाहालले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठीक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताए ।

उनले भने, ‘मुस्ताङमा अमूल्य खनिज पदार्थहरु छन् । र, त्यो खनिज पदार्थको उत्पादन र उत्खनन् त्यसको प्रेसेसमात्रै हामीले ठीक ढंगले गर्न सक्यौ भने सयौं वर्षका लागि नेपालीहरुको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि छन् । हामी नेपालीहरुले भन्दा विदेशीहरुले अघि बढी मुस्ताङ र त्यहाँ भएको प्राकृतिक स्रोत खनिज पदार्थबारे बढी जानकारी राख्छन् भन्ने पनि तपाईं÷हामीले सुन्दै आएको पनि हो ।’

प्रधानमन्त्री दाहालले मुस्ताङमात्रै नभएर मुलुकको विभिन्न भागमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरु रहेको पनि बताए । ’मुस्ताङमात्रै होइन । देशका विभिन्न भागमा विभिन्न किसिमको स्रोतहरु छन् । पेट्रोल र तेल उत्पादनको सम्भावनामा पनि हामी धेरै अगाडि बढेका छौं,’ उनले भने ।

Featured News

Advertisement