आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

महिला फुटबलको उपाधि एपीएफको पोल्टामा



बिहीबार २३ , पुष २०७७

अपराजित यात्रालाई कायम राख्दै १६औं राष्ट्रिय महिला लिग फुटबलको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ। राखेप च्याम्पियनसिपअन्तर्गत एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा बिहीबार भएको सुपर लिगको अन्तिम खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ गोलले पराजित गर्योल। एपीएफले समूह चरणको खेलदेखि नै आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो। सुपर लिगमा एपीएफलाई उपाधि दिलाउन सावित्रा भण्डारीले दुई तथा सरु लिम्बूले एक गोल गरे। लिगमा सनसनीपूर्ण प्रदर्शन गरेकी सावित्राले ६ खेलमा कुल २९ गोल गरिन्। पुलिसका लागि रूपा मगरले सान्त्वना गोल फर्काएकी थिइन्।

 

बिहीबार नै भएको सुपर लिगको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमाञ्चललाई ७-० गोलले हरायो। जितसँगै आर्मी दोस्रो भयो। सुपर लिगमा एपीएफले कुल ९ अंक बनायो। आर्मीले ६ अंक बटुल्यो। पुलिस तेस्रो भयो भने सुदूरपश्चिम अन्तिम चारमा रह्यो। उपाधिसँगै एपीएफले दुई लाख रुपैयाँ पुरस्कार पायो। उपविजेता आर्मीले एक लाख र तेस्रो भएको पुलिसले ५० हजार रुपैयाँ प्राप्त गर्यो्।

लिगको उत्कृष्ट स्ट्राइकरको उपाधि एपीएफकी सावित्रा भण्डारीले जितिन्। उत्कृष्ट रक्षक आर्मीकी दीपा राई, उत्कृष्ट मिडफिल्डरमा आर्मीकी अञ्जली वाइबा, उत्कृष्ट गोलरक्षकमा एपीएफकी अञ्जली सुब्बा र उत्कृष्ट प्रशिक्षकमा एपीएफका जनक सिंहले बाजी मारे। उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गरेको लिगमा तीन विभागीय टोली र पाँच विकास क्षेत्रले प्रतिस्पर्धा गरेका थिए।सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। समूहका विजेता र उपविजेता सुपर लिगमा प्रवेश गरेका थिए। सुपर लिगमा विभागीय तीन टोली र सुदूरपश्चिमले स्थानबनाएका थिए। सुपर लिगको शीर्ष टोली च्याम्पियन बनेको हो। विजेतालाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी लगायतले पुरस्कार प्रदान गरे। 

Featured News

Advertisement