सानो कमजोरीले निम्त्याएका दुर्घटनाहरु
“यसलाई पायल्स भएको छ । ६ महिनादेखि औषधि गरिराखेकी छे । ठीकै भएन डाक्टर साब ।” भर्खर १८ वर्ष पुगेकी छोरीलाई लिएर आउनु भएको थियो उहाँको बुवा । जाँच गर्दा क्यान्सरभएको पाइयो । अपरेशन गर्न नमिल्ने गरी फैलिसकेको अवस्थामा ।
“मेरो बुवालाई प्रत्येक वर्ष प्याकेजमा हेल्थ चेकअप गराइरहेको थिएँ, आज एक्कासी मलद्वारको क्यान्सर, त्यो पनि पेटभरि फैलिएर उपचार सम्भव नहुने स्टेजमा” आँखाभरी आँसु पार्दै
आफ्नो ८२ वर्षको बुवाको उपचार खोज्दै आउनुभएको थियो उहाँको छोरा ।
“पेट फुल्ने समस्याले तीन महिनादेखि अस्पतालमा धाइरहेको छु, ग्याष्ट्रिकको उपचार जति गरेपनि ठीक भएन डाक्टर साब ।” आफ्नो २२ वर्षको भाइ जचाउँन ल्याउने दाईको पीडा थियो यो। छानबीन गर्दा उसको पनि क्यान्सर नै पत्ता लाग्यो । तर सर्जरी गरेर रोग फाल्न मिल्ने । जिन्दगीभरि दिशा निस्कने ब्याग पेटमा झुण्डयाउनु पर्ने । त्यसपछि केमोथेरापी पनि दिइरहनु पर्ने ।
यस्ता घटनाहरु अस्पतालमा कहिले काहीं मात्र देखिने गर्छन् । तर जसलाई प¥यो उसले जिन्दगीमा धेरै गुमाएको हुन्छ । यी तिनै जना विरामीलाई मलद्वार भित्रको ठूलो आन्द्राको क्यान्सरभएको थियो । यदि बैलेमा सम्बन्धित चिकित्सकले जाँच गरेको भए रोग शुरुवाती अवस्थामै पहिचान हुन सकथ्यो, उपचार सम्भव हुन्थ्यो र धेरै वर्ष बचाउन सकिन्थ्यो । चिकित्सकलेमलद्वारबाट औंला राखेर जाँच गर्थे ।
मलद्वार र ८–१० सेन्टिमीटर भित्रसम्मको घाउ, क्यान्सर वा अन्य समस्या पत्ता लगाउने उत्तम उपाय हो औंलाले छामेर जाँच्ने विधि जसलाई डिजिटल रेक्टल एग्जामिनेसन (डि.आर.इ) भनिन्छ। दिशा गर्ने बानीमा परिवर्तन हुँदा, दिशा राम्रो सँग ननिख्रने समस्या हुँदा, रगत बग्दा यो जाँच गर्नै पर्छ । ठूलो आन्द्रामा हुने क्यान्सरमध्ये लगभग एक तिहाइ यही ठाउँमा रहेको हुन्छ । योजाँचको लागि एकजोडी पन्जा, औंला चिप्लो बनाउने जेली, टर्च लाइट र एक जना एसिस्टेण्ट चाहिन्छ । कहिलेकाहीं यस्ता चीजको अभावमा यो जाँच गर्न छुटाउँनु हुँदैन । दिसासँगसम्बन्धित लक्षणहरु भएर आएका बिरामीमा यो जाँच गर्न छुटाइयो भने चिकित्सकले ठूलै अपराध गरेको ठहरिन्छ । एउटा औंला पसाएर जाँच नगर्दा पछि खुट्टै पसाएर जाँच गर्नु पर्ला है भन्नेव्यङग्यात्मक बोली पनि छ चिकित्साशास्त्रमा ।
मलद्वार र आसपासका शुरुवाती अवस्थाको क्यान्सर पत्ता लगाउन डि.आर.इ. अचुक विधि हो । त्यसपछि मात्र पाइप लगाएर जाँच गर्ने, बायोप्सी लिने र अन्त कति फैलिएको छ भनेर पत्तालगाउन अल्ट्रासाउण्ड, सि.टी. स्क्यान, एम.आर.आइ. स्क्यान आदि विधिहरु सहयोगी हुन्छन् ।
बिरामीले मनखुसी औषधि किनेर खानु अथवा चिकित्सकलाई जचाउँन ढीला गर्नु बिरामी पक्षको कमजोरी हो, बिरामीलाई सम्बन्धित चिकित्सकलाई जचाउँन समयमै सहि सल्लाह दिननसक्नु आफन्तको कमजोरी हो । त्यस्तै जाँच गर्न आइसकेका बिरामीलाई राम्रोसँग जाँच नगरिदिनु वा डि.आर.इ. नगर्नु चिकित्सकको कमजोरी हो ।
यस्ता दुःखदायी घटनाहरु दोहोरिन नदिन हामी सबै सचेत रहनु पर्छ ।
प्रा डा कमल कोइराला
बरिष्ठ ग्यास्ट्रो-सर्जन
किस्ट मेडिकल कलेज








